चुनाव सकिएसँगै एकीकृत समाजवादीमा चरम असन्तुष्टि, पार्टी फुट्ने सक्ने।

एकीकृत समाजवादीले महाधिवेशनको दुई महिनापछि चुनावमार्फत् पदाधिकारी र पोलिटब्यूरो सदस्य चयन गरेको छ। तर, निर्वाचनमा गुटउपगुट छताछुल्ल भएको छ

एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको हो । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत चयन भए

यसअघि दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल चयन भए पनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन । अध्यक्ष नेपाल पक्षले पदाधिकारीमा जिताउनुपर्ने नेताहरूको नामावली बाँडदा उनकै समूहकी रामकुमारी झाँक्री उपाध्यक्षमा हारेकी छन्। त्यति मात्र होइन, माधव नेपाल पक्षको चिटमा डा विजयकुमार पौडेल र प्रकाश ज्वालालाई हटाएको थियो।

पदाधिकारीमा झलनाथ खनाल र घनश्याम भुषाल समूहका प्रकाश ज्वाला बाहेक कोही पनि परेका छैनन । एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष र गुटगत राजनीति छरपष्ट भएपछि पार्टीको भविष्य नै संकटमा परेको छ। ०७८ मा तत्कालीन एमालेबाट विभाजन भएर एकीकृत समाजवादी गठन भएको थियो। तर, राष्ट्रिय दलसमेत बन्न नसकेको एकीकृत समाजवादीमा गुटगत राजनीति भएपछि फुटको संघारमा पुगेको हो।

२०७९ को आम चुनावमा तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी हुन सकेको थिएन। असन्तुष्ट नेताहरुले एकीकृत समाजवादी पार्टी छाड्न थालिसकेका छन्। काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेले पार्टी परित्याग गरिसकेका छन्। एकीकृत समाजवादी परित्याग गर्नेमा काठमाडौँ क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन,सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा,जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटालगायत छन्।

प्रतिक्रिया दिनुहोस्