जैविक-संस्कृति संरक्षण सम्बन्धी युवा सम्मेलनको तयारी पुरा ।
काठमाडौँ, फेब्रुअरी २०२६ – ICCA नेटवर्क नेपालको आयोजना र विभिन्न सहयोगी संस्थाहरूको समन्वयमा आगामी फेब्रुअरी ६ देखि ८, २०२६ (तदनुसार माघ २३ देखि २५, २०८२) सम्म काठमाडौँमा तीन दिने जैविक-सांस्कृतिक संरक्षण सम्बन्धी युवा सम्मेलन’ (Youth Conference on Bio-Cultural Conservation in Nepal) आयोजना हुन लागेको छ ।
‘प्रकृति, संस्कृति र समुदायको रक्षाका लागि युवा सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनको मुख्य उद्देश्य नेपालको जैविक-सांस्कृतिक सम्पदाको संरक्षणमा युवाहरूको भूमिकालाई सुदृढ बनाउनु र उनीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नु रहेको छ ।
पहिलो दिन (माघ २३): सम्मेलनको उद्घाटन सत्रमा ‘नेपालमा युवा र जैविक विविधता संरक्षण’ विषयमा छलफल हुनेछ, जसमा WWF नेपाल, त्रिभुवन विश्वविद्यालय, बर्ड कन्जर्भेसन नेपाल र नेपाल सरकारका उच्च पदस्थ प्रतिनिधिहरू प्यानल सदस्यका रूपमा सहभागी हुनेछन् । साथै, ललितपुरको बज्र बाराही, डोल्पाको ताराली मगर समुदाय र सिन्धुलीको दनुवार समुदायका जैविक-सांस्कृतिक अभ्यासहरूमा आधारित प्राविधिक सत्रहरू सञ्चालन गरिनेछन् ।दोस्रो दिन (माघ २४): दोस्रो दिनको सत्रहरू ‘युवा, सामुदायिक अधिकार र जैविक-सांस्कृतिक संरक्षण अभ्यास’ मा केन्द्रित रहनेछन् । यसमा FECOFUN, NEFIN र NIWF जस्ता संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहनेछ । साथै, राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) र IUCN नेपालका विशेषज्ञहरूबाट मुख्य प्रस्तुति (Keynote Presentation) रहनेछ । यस दिन चितवनको चेपाङ समुदाय, मुगुको करमारोङ र ताप्लेजुङको लिम्बु समुदायका सांस्कृतिक संरक्षणका विषयमा कार्यपत्रहरू प्रस्तुत गरिनेछन्
तेस्रो दिन (माघ २५): अन्तिम दिन युवाहरूको अनुभव आदानप्रदान, नेतृत्व क्षमता विकास र नीतिगत बहसहरूमा केन्द्रित रहनेछ । सम्मेलनको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै नेपालको जैविक-सांस्कृतिक संरक्षणमा युवाहरूको भावी दिशाबारे विशेष छलफल हुनेछ [
यस सम्मेलनलाई WWF, IUCN, ZSL, NTNC, Bird Conservation Nepal, The ICCA Consortium, Synchronicity Earth र CFLI/FCIL जस्ता संस्थाहरूले सहयोग गरेका छन् । सम्मेलनले नेपालको जैविक र सांस्कृतिक विविधतालाई भावी पुस्ताका लागि जोगाइराख्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ।
