पृथ्वीजस्तै अर्को ग्रह वैज्ञानिकले फेला पारे ।

खगोल विज्ञान तथा अन्य ग्रहमा जीवनको खोजीका लागि एक रोमाञ्चक सफलता हासिल भएको वैज्ञानिकहरूले बताएका छन्। अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एक समूहदे ‘ग्लिज १२ बी’ नामक ग्रह फेला पारेका हुन्।
पृथ्वीकै आकारको उक्त समशितोष्ण ‘एक्जोप्लानेट’ पृथ्वीबाट ४० प्रकाश वर्ष अर्थात् करिब ३७८ ट्रिलियन किलोमिटर टाढा छ।म्याकगिल विश्वविद्यालय तथा वेस्टर्न विश्वविद्यालयका शोधकर्ताहरूको सहयोगमा संसारभरका शोधकर्ताहरूले इन्फ्रारेड डोपलर सुबारु स्ट्र्याटेजिक प्रोग्राम (आईआरआरडी-एसएसपी) मार्फत उक्त ग्रह पत्ता लगाएका हुन्।
उक्त ग्रहले एक रातो ग्रहलाई परिक्रमा गर्छ। र, जीवन सम्भावित क्षेत्र (ह्याबिटेबल जोन)मा उक्त ग्रह पर्छ। त्यसबाट हाम्रो सौर्य मण्डलभन्दा टाढा पनि जीवनको सम्भाव्यताबारे रोमाञ्चक जानकारी पाउन सकिने वैज्ञानिकहरूको दाबी छ।
‘ग्लिज १२ बी’ले ‘ग्लिज १२’ नाम दिइएको रातो तारालाई परिक्रमा गरिरहेको छ। राता ताराहरू हाम्रो सूर्यजस्ता ‘जी-टाइप’ ताराको तुलनामा साना र ठण्डा अधिक हुन्छन्। त्यसैले यस्ता राता ताराहरूलाई परिक्रमा गर्ने ग्रहहरूमा जीवनको सम्भावना अधिक रहेको वैज्ञानिकहरूको अनुमान छ। त्यस्ता ग्रहहरूमा स्थलीय संसार पत्ता लगाउन पनि सहज मानिन्छ।
‘ग्लिज १२’ दुईवटा साना ताराहरू मध्ये एक हो, जो पृथ्वीबाट १०० प्रकाश वर्ष टाढा छ। र, अपेक्षाकृत कम तारकीय विकिरणवाला ग्रहहरूलाई आफ्नो वरिपरि घुमाउँछ। ‘ग्लिज १२’ एक असामान्य रूपबाट निश्क्रिय रातो तारा हो। त्यसको अर्थ हुन्छ- त्यसका ग्रहहरूलाई साह्रै कम हानिकारक परिस्थितिहरूको सामना गर्नुपर्छ।
‘ग्लिज १२ बी’ ग्रह पृथ्वीको लगभग समान आकारको छ। र, पृथ्वीकै जस्तो सतहको वातावरण हुन सक्ने अनुमान छ। तथापि, त्यसलाई पुष्टि गर्न अधिक अवलोकनको आवश्यकता छ। र, उक्त ग्रहमा पानी हुन सक्ने अनुमान पनि छ।