सबै भाषाभाषीहरूलाई सम्मान गरे प्रत्येक भाषाको संरक्षण हुन्छः राष्ट्रपति पौडेल

काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव हुने विचार व्यक्त गरेका छन् ।

जयतु संस्कृतमा संस्थाद्वारा शीतल निवासमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन्। ‘कुनै भाषाले कुनै भाषालाई निषेध गर्नुहुँदैन, सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव छ’, उनले भने ।

‘संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञानविज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ’, राष्ट्रपति पौडेलले भने । शुक्लयजुर्वेदलगायतका कैयौं ग्रन्थ नेपालमै लेखिएका थिए भन्ने अनुसन्धाताको विचार पाइन्छ भन्दै उनले वेदव्यास, वाल्मीकि, विश्वामित्रजस्ता कयौं ऋषिहरूको तपोभूमि पनि नेपाल भएको बताए ।

२००४ सालमा बोल्न, लेख्न र संगठन गर्न नपाउने जनविरोधी एकतन्त्रीय राणाशासनको युगमा संस्कृत अध्ययन गर्ने छात्रहरूले काठमाडौंमा सशक्त आन्दोलन गरेर राणा सरकारलाई झुक्न बाध्य बनाएको प्रसङ्ग उल्लेख गर्दै उनले भने,‘जयतु संस्कृतम् आन्दोलनले नै स्वतन्त्रताको बिगुल फुकेको थियो र प्रजातन्त्रको बीजारोपण गरेको थियो, नेपालमाा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम आन्दोलनको ठूलो योगदान छ

जयतु संस्कृतम् आन्दोलनको मूल प्रवाहमै रहेर अभियानस्वरुप थालिएको यस संस्थाले संस्कृतका ग्रन्थहरूको लेखन र प्रकाशन, विद्वत्सम्मान, संस्कृत गुरुकुल र विद्यालयको संरक्षण र विकासमा कार्य गर्नु खुशीको विषय भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्