विद्युतीय चुलोका फाइदाहरु l
काठमाडौंको पुरानो बानेश्वर निवासी संगिता बानियाँ विगत एक वर्षदेखि विद्युतीय चुलोमा खाना पकाउँछिन् । उनी आफ्नो चारजनाको परिवारलाई त्यसअघि ग्याँस चुलोमा खाना तयार गरेर खुवाउँथिन् । खाना पकाउनका लागि प्रयोग गरिने एलपी ग्यास महँगो हुँदै गएकोले पनि गृहिणीहरूको रोजाइमा विद्युतीय चुलो परेको हो ।
उनी किन विद्युतीय चुलोमा आकर्षित भएकी हुन् भन्ने प्रश्नमा उनको जवाफ छ- ‘यो निकै सस्तो पर्दोरहेछ अनि त्यसैले।’ विद्युतीय चुलो प्रयोगले ग्याँस किन्ने खर्च बचत भएको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘एक सिलिन्डर ग्यास भर्न दुई हजार रुपैयाँ बोकेर जानु पर्छ । मुस्किलले दुई महिना मात्र पुग्छ ।’ त्यसको तुलनामा विद्युतीय चुलो चलाउँदा धेरै आर्थिक बचत भएको उनको ठहर छ ।
विद्युतीय चुलो प्रयोगबाट कति बचत हुँदो रहेछ भन्ने आर्थिकन्युजको प्रश्नमा उनले भनिन्, ‘ठ्याक्कै कति खर्च कम लाग्यो भन्ने त हिसाब गरेर नै निकाल्नुपर्छ । तर, ग्यासको तुलनामा मलाइ सस्तो नै लागेको छ ।’ उनले घरमा अन्य विद्युतीय सामग्री र यन्त्रहरू जस्तै बत्ती, टिभी, फ्रिज, वासिंङ मेसिन आदि चलाउने भएकोले चुलोको मात्रै कति बिल उठ्यो भन्ने आफुले हिसाब नराखेको बताइन् ।
बजारमा थरिथरिका विद्युतीय चुलोहरू पाइन्छन् । जसमध्ये संगीताले सबै प्रकारका भाँडामा पकाउन मिल्ने खालको चुलो प्रयोग गर्दै आएकी छिन् । ‘बजारमा धेरै खालका विद्युतीय चुलो पाइने रहेछ । चुलोसँगै भाडा पनि किन्नु पर्ने खालको पनि पाइने रहेछ । तर, मैले सबै भाडामा लाग्ने खालको चुलो किनेको छु’, उनले सुनाइन् ।
विद्युतीय चुलोमा खाना पकाउने भएपनि उनले आफ्नो भान्साबाट ग्याँस चुलो समेत हटाएकी भने छैनन् । पुर्णरुपमा विद्युतीय चुलोमा भर पर्न नसक्नुको कारण खोल्दै उनी भन्छिन्, ‘बिजुली सधैँ एकनास हुँदैन । कहिलेकाहीँ झ्याप्प लाइन गइदिन्छ । लाइन फेरि कति बेला आउने हो थाहा हुँदैन । त्यही भएर ग्यास चुलो पनि राखिराखेको छु ।’
साँझ र बिहानको समयमा लोडसेडिङ नहुने हो र विद्युतीय चुलोमा खपत हुने विद्युतको महसुलमा केही सहुलियत दिने हो भने धरैले पूर्णरुपमा नै विद्युतीय चुलो प्रयोग गर्ने उनको विश्वास छ ।