नेपालमा सबैभन्दा बढी आयात हुने यी हुन् १० वस्तु ।

नेपालले १७० भन्दा धेरै देशबाट वस्तु आयात गर्दै आएको छ । आयातको सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतबाट भइरहेको छ । पेट्रोलियम पदार्थ, सवारीसाधन, तयारी पोसाक तथा खाद्यान्न र तरकारीका लागि नेपाल भारतमा अधिक निर्भर देखिन्छ । त्यस्तै, धेरै वस्तु आयात हुने मुलुकको दोस्रो स्थानमा चीन छ । चीनसँगै युएई, युक्रेन, अमेरिकी र युरोपेली मुलुकबाट समेत वस्तु आयात हुँदै आएको छ । पछिल्लो समय नेपालभित्र उत्पादन गर्न सकिने वस्तु तथा सेवामा पनि परनिर्भरता बढ्दै गएको छ ।

१. पेट्रोलियम पदार्थ आयातमा बाहिरियो तीन खर्ब:
पेट्रोलियम पदार्थ नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा पहिलो नम्बरमा पर्छ । पेट्रोलियम पदार्थ स्वदेशमा उत्पादन हुँदैन, जसले गर्दा आयात नभई हुँदैन । वार्षिक खर्बौं रुपैयाँको आयात भइरहेको छ । हुन त गत वर्ष समग्र वस्तुको आयातमा कमी आउँदा पेट्रोलियम पदार्थमा पनि कमी आइरहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–०८१ मा ३ खर्ब ६५ करोड रुपैयाँबराबरको (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यास) आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ३ खर्ब ९ अर्ब रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो भने आर्थिक वर्ष ०७८–७९ मा तीन खर्ब ३४ अर्बको पेट्रोलियम पदार्थ आयात भएको थियो । यसरी पछिल्लो समय आयातमा पेट्रोलियम पदार्थ आयातमा कमी आइरहेको छ । आयातमा कमी आउनुका कारण आर्थिक सिथिलता हुनु, भारतीय सीमावर्ती क्षेत्रमा मूल्य कम हुनु र विद्युतको प्रयोग बढ्नुलाई लिइएको छ ।

२.मेसिनरी तथा पार्टपुर्जा:
दोस्रो नम्बरमा बढी रुपैयाँको आयात हुने वस्तुमा मेसिनरी तथा पार्टपुर्जा रहेका छन् । कारखानादेखि जलविद्युत् आयोजनासम्मका लागि चाहिने यस्ता मेसिनरी आयात गएको आर्थिक वर्ष २०८०–०८१ मा ७८ अर्ब ८५ करोडको मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ७२ अर्ब ९४ करोड रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा आयात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ९१ अर्ब ५७ करोडको आयात भएको थियो । नयाँ उद्योग स्थापना तथा पुरानाको मर्मत गर्न आवश्यक पर्ने यस्ता मेसिनरी सामानको आयात हुनुलाई सकारात्मक संकेतका रूपमा लिइन्छ । मेसिनरी सामानको आयात धेरै बढ्नु भनेको औद्योगिक वातावरणको राम्रो संकेत भएको व्यवसायीहरूको भनाइ छ ।

३.सवारी साधान तथा पार्ट्सको आयात:
आयात हुने तेस्रो नम्बरमा सवारीसाधन तथा पाट्र्सको आयात पर्छ । आर्थिक वर्ष २०८०–०८१ मा सवारीसाधन तथा सवारीका पार्टपुर्जा आयात गर्दा ७८ अर्ब १ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ६१ अर्ब ७९ करोडको सवारीसाधन तथा सवारीका पार्टपुर्जा आयात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा १ खर्ब २३ अर्ब ९१ करोडको आयात भएको थियो

४. औषधि:
नेपाल औषधिमा आत्मनिर्भर हुने कुरा कागजै सीमित छ । औषधिमा आत्मनिर्भरताको विषय आजभन्दा ३० वर्ष अघिदेखि प्रतिबद्धता गरेको कुरा हो । राष्ट्रिय औषधि नीति ०५१ ले १० वर्षभित्र देशमा खपत हुने ८० प्रतिशत औषधि स्वदेशमै उत्पादन गर्ने नीति लिएको थियो । तर, औषधि उत्पादन, आयात तथा निर्यातका पक्षमा बनेका नीति तथा कानुन कार्यान्वयन नहुँदा स्वदेशी उत्पादनले गति लिन सकेको छैन ।

नेपालले आज पनि बर्सेनि अर्बाैंको औषधि आयात गरिरहेको छ । आर्थिक वर्ष २०८०–०८१ मा ४५ अर्ब ९० करोडको आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–८० मा ४७ अर्ब ६५ करोडको औषधि आयात हुँदा २०७८–०७९ मा ७६ अर्ब ८ करोडको आयात भएको थियो । नेपाल औषधि उत्पादक संघका अनुसार ट्याब्लेड, क्याप्सुल, लिक्विड र आइण्टमेण्ट (मल्हम)मा भने नेपाल लगभग आत्मनिर्भर छ भने विशेषगरी भ्याक्सिन, बायोटेक्नोलोजी प्रडक्ट, क्रिटिकल केयरलगायत अत्यावश्यक औषधि विदेशबाटै आयात गर्दै आएको छ ।

५. स्पन्ज आइरन:
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८–७९ को बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादन प्रोत्साहन गर्ने भन्दै कच्चा पदार्थ (स्पन्ज आइरन) आयातमा लाग्ने गरेको भन्सार दर ५ बाट १ प्रतिशतमा झारेका थिए । अन्तःशुल्क भने नलाग्ने व्यवस्था गरेका थिए । सोही कारण पछिल्लो समय स्पन्ज आइरन आयात ह्वातै बढेको छ । आर्थिक वर्ष २०८०–०८१ मा ३९ अर्ब २ करोडको स्पन्ज आइरन आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ४३ अर्ब ६० करोडको स्पन्ज आइरन आयात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा २३ अर्ब ९८ करोडको आयात भएको थियो ।

६. विद्युतीय उपकरण आयात:
त्यस्तै, अर्को धेरै रुपैयाँ खर्च गरेर नेपाल भित्रिने वस्तुमा विद्युतीय उपकरण रहेका छन् । आर्थिक वर्ष २०८०–०८१ मा ३८ अर्ब ६७ करोडको विद्युतीय उपकरण आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ३१ अर्ब ८२ करोडको विद्युतीय उपकरण आयात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ३३ अर्ब ६७ करोडको आयात भएको थियो । नेपालमा धेरै जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने मेसिन तथा उपकरण ९० प्रतिशतभन्दा बढी विदेशबाट नै आयात हुन्छ । जलविद्युत् आयोजनामा आवश्यक पर्ने इलेक्ट्रिक तथा मेकानिकल उपकरण, विद्युतीय पार्टपुर्जा, विद्युतीय लाइट तथा थरीथरीका बत्तीहरू पनि विदेशबाट नै आयात हुन्छ ।

७. दूरसञ्चार उपकरण तथा पार्ट्स आयात:
दूरसञ्चार क्षेत्रको तीव्र विकासका कारण यस क्षेत्रमा प्रयोग हुने उपकरण र तिनका पार्टपुर्जाको आयात पछिल्लो समय तीव्र रूपमा बढिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–०८१ मा ३७ अर्ब १२ करोडको दूरसञ्चार उपकरण तथा पार्ट्स आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ३६ अर्ब ४० करोडको दूरसञ्चार उपकरण तथा पार्ट्स आयात हुँदा ५३ अर्ब ७१ करोडको आयात भएको थियो । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने पछिल्लो समय दूरसञ्चार उपकरण एवं पार्टपुर्जाको आयात लगातार बढिरहेको छ । टेलिफोन र इन्टरनेट सेवा चलाउने ठूला कम्पनीसँगै साना इन्टरनेट सेवाप्रदायकको समेत बजार बढ्दै गएकाले यस्ता उपकरणको आयात बढेको हो । नेपाल टेलिकम र एनसेलजस्ता ठूला कम्पनीले सेवा विस्तार गर्ने क्रममा विभिन्न उपकरणको आयात गरिरहेका छन् । उनीहरूले टेलिफोन सेवा विस्तारका लागि आवश्यक टावर, अप्टिकल फाइबर, ट्रान्समिसन उपकरणलगायत सामग्री विभिन्न मुलुकबाट आयात गरिरहेका छन् ।

८. रासायनिक मल:
कृषिप्रधान देशका रूपमा रहेको नेपालको कृषि क्षेत्र थप जर्जर बन्दै गएको छ । काम गर्नसक्ने जनशक्ति बिदेसिँदा र देशभित्रको उत्पादनले बजार र सही मूल्य नपाउँदा नेपालमा कृषिप्रतिको आकर्षण घटिरहेको छ । जसका कारण कृषिप्रधान देशमा बर्सेनि खर्बाैं रुपैयाँबराबरको तरकारी, फलफूलदेखि खाद्यान्नसम्म छिमेकी देशबाट आयात भइरहेको छ । सरकारले नेपालका कृषि उत्पादकत्व बढाउन विभिन्न प्रकारका उपाय अवलम्बन गरिरहेको छ । त्यमध्येको एक हो– मल । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा ३६ अर्ब ४३ करोडको रासायनिक मल आयात गरिएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ४० अर्ब ६९ करोडको रासायनिक मल आयात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा २१ अर्ब ३६ करोडको आयात भएको थियो । सरकारले रासायनिक मल खरिदका लागि बर्सेनि अर्बौं रुपैयाँ खर्च गर्छ ।

९. तयारी पोसाक:
नेपालबाट निर्यात हुने वस्तुमध्ये रेडिमेड गार्मेन्ट अर्थात् तयारी पोसाक पनि मुख्य हो । तर, सरकारबाट प्रोत्साहन नपाउँदा पछिल्लो समय तयारी पोसाकको आयात बढ्दो छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–०८१ मा ३३ अर्ब २६ करोडको तयारी पोसाक आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा २४ अर्ब ४८ करोडको तयारी पोसाक आयात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ३० अर्ब ९० करोडको आयात भएको थियो । बजारको मागअनुसार स्वदेशमा कपडा उत्पादन गर्न नसक्दा विदेशबाट तयारी कपडाको आयात ह्वात्तै बढेको हो । तयारी पोसाक क्षेत्र विदेशी मुद्रा आर्जन र रोजगारीको एक ठूलो रोजगारीको अवसर भए पनि खस्कँदो अवस्थामा पुगेको छ ।

१०. कपडा आयात:
पछिल्लो समय कपडा आयात बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–०८१ मा ३० अर्ब ९२ करोडको कपडा आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा २६ अर्बको कपडा आयात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा २८ अर्ब ७३ करोडको आयात भएको थियो । तयारीबाहेक अन्य कपडाको आयातको मात्रा पनि ठूलो छ । कपडा उद्योगका लागि उपयुक्त वातावरण नहुँदा उत्पादन वृद्धि हुन सकेको छैन । जसका कारण ठूलो मात्रामा कपडा आयात गर्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्