थामी समुदायमा आइएलओ १६९सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न : पहुँचबिहिन समुदायबिच एकतामा जोड

काठमाडौं, भदौ २ गते ।

राज्यसत्ताबाट विमुख विभिन्न जाति, समुदायका अगुवाहरुले अधिकार प्राप्तिका लागि आफूहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

ग्रामिण विकास युवा सञ्जालको आयोजनामा शनिबार काठमाडौंमा आयोजित अति सिमान्तकृत थामी समुदायको सशक्तिकरणका लागि अधिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै उनीहरुले बताएका हुन् ।

आदिवासीको अधिकारका लागि वकिलहरुको समूह (लाहुर्निप) का निर्देशक एवम् कार्यक्रमका प्रशिक्षक अधिवक्ता टहल थामीले आइएलओ कन्भेन्सन नं. १६९ सम्बन्धमा बोल्नुहुँदै संसारभरका आदिवासीहरु राज्यसत्ताको पहुँच बाहिर रहेको बताउनुभयो । उहाँले आधुनिक विकासको नाममा आदिवासीहरुको पुर्खौली जल, जंगल र जमिनमाथि निरन्तर हस्तक्षेप एवम् आक्रमण हुँदै आएको बताउनुभयो । विकासको नाममा डोजर आतंक लगायतका गतिविधि भएको उल्लेख गर्नुहुँदै उहाँले कानुनमा उल्लेख्खित अधिकारका लागि सिंगो आदिवासी समुदाय एक ठाउँमा आउनुपर्ने भनाइ राख्नुभयो ।

यस्तै, नेपाल आदिवासी जनजाति महासंघका पूर्व उपाध्यक्ष एवम् कार्यक्रमका अर्का प्रशिक्षक गोविन्द छन्त्यालले नेपालमा अहिले ठूला तथा राष्ट्रिय भनिएका राजनीतिक दलहरु स्थापना हुनुअघि आदिवासीहरुको परम्परागत संघ, संस्थाहरु स्थापना भएको उल्लेख गर्नुभयो । देशको राजनीतिक, सामाजिक, सांस्कृतिक परिवर्तनमा आदिवासी जनजाति समुदायको योगदान रहेपनि राज्यको नीति, निर्माण एवम् निर्णायक तहमा उनीहरुको पहुँच पुग्न नसकेको उहाँको भनाइ छ ।

नेपाल आदिवासी जनजाति महासंघका सचिव विकास सुरेलले पहुँचबिहिन समुदायबिच सहकार्य र सहमति आवश्यक रहेको बताउनुभयो । विवादित विषयलाई सहमतिमार्फत समाधान गर्दै यस्ता समुदायबिच एकजुट हुने वातावरणको निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

जिरेल समुदायका तर्फबाट तक्त जिरेलले सुरेल, जिरेल, थामी लगायत सम्प्ुर्ण किराती समुदायबिच युगौं युगदेखि भाइचाराको सम्बन्ध रहँदै आएको बताउनुभयो । जिरेलले राज्यसत्ताबाट वञ्चित भएको आदिवासी जनजाति, पिछडिएको समुदाय, दलित लगायतको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

किराँती लेखौं अभियानका अभियान्ता दिनेश किरातीले किराती समुदाय अन्तर्गतका सबै जातिले किराती लेख्नुपर्नेमा जोड दिनुभयो । उहाँले सृष्टिदेखि नै सभ्यता निर्माण गर्दै आएका किरातीहरुले आफूले आफूलाई किराती लेख्न हिच्किचाउन नहुने भनाइ राख्नुभयो ।

देशको शीर्ष राजनीतिक दलबाट पहुँचबिहिनहरुको अधिकार स्थापित हुने सम्भावना नदेखिएकाले छुट्टै संघर्ष आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रमका अध्यक्ष विकेश थामीले थामी समुदायको राजनीतिक अधिकार प्राप्तिका लागि स्वशाषण, स्वायत्तता र आत्मनिर्णयको अधिकारको सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल थामी समाज सिन्धुलीका तर्फबाट अध्यक्ष एवम् निमबहादुर थामी, सचिव एवम् थामी समुदायका अभियान्ता चन्द्र थामी, घ्याङलेख गाउँपालिका सदस्य टीकानारायण थामी सहभागी हुनुभएको थियो । थामी समाज, सिन्धुपाल्चोकका तर्फबाट अध्यक्ष वीरबहादुर थामी, सचिव रविन थामी, रामेछाप दोरम्बा शैलुङ गाउँपालिकाका वडा सदस्य बमबहादुर थामी, निको थामी सेवा समाजका अध्यक्ष गणेश थामी घायल, नेपाल थामी युवा संघका अध्यक्ष भोजपुरका रमेश थामी, सोलुखुम्बुका भीमबहादुर थामी, भीमेश्वर–काठमाडौं सम्पर्क मञ्चका सचिव कृष्ण थामी, नेपाल थामी समाजका केन्द्रीय सदस्य सरिता थामी, नेपाल थामी विद्यार्थी संघका अध्यक्ष सपना थामी लगायत सहभागी हुनुभएको थियो ।


नेपाल थामी युवा संघका निवर्तमान महासचिव भीमकुमार थामीले कार्यक्रम सञ्चालन एवम् सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्