आगामी एक वर्षमा हजार मेगावाट विद्युत् थपिने ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यो वर्ष कम्तीमा एक हजार मेगावाट जलविद्युत उत्पादन थप्ने लक्ष्य राखेको छ । नेपालको जलविद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट रहेको बताइए पनि हालसम्म ३ हजार ५ सय मेगावाट मात्र उत्पादन हुन सकेको छ । तीव्र जलविद्युत उत्पादनको लक्ष्य अनुसार चालु आर्थिक वर्षभित्रै थप एक हजार मेगावाट उत्पादन गरेर ४ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य मन्त्रालयले राखेको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ८७ अर्ब ५६ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये ५३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ ऊर्जा क्षेत्रका लागि छुट्टाइएकोमा बाँकी ३३ अर्ब ७० करोड ८७ लाख रुपैयाँ जलस्रोत तथा सिँचाइ क्षेत्रमा छुट्टाइएको छ । 

Shivam Cement

बजेट कार्यान्वयनबाट प्राप्त हुने प्रमुख उपलब्धिहरूमा जलस्रोत तथा सिँचाइतर्फ हालसम्म सिँचाइ पूर्वाधार बनेको १५ लाख ७० हजार हेक्टरबाट १५ लाख ८५ हजार ९७० हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य मन्त्रालयले राखेको छ ।  ठुला तथा मझौला नदीमा तटबन्ध निर्माण हाल १४१५ किमी रहेकोमा यसको विस्तार आर्थिक वर्षभित्र १४५१ किमी पुर्‍याउने मन्त्रालयले जनाएको छ । 

यसैगरी राडार केन्द्र स्थापना तथा सञ्चालन हाल एउटा मात्र रहेकोमा थप २ वटा स्थापना गरी ३ वटा पुर्‍याउने, जलमापन केन्द्र स्वचालित बनाउनेतर्फ १७५ बाट १९० र मौसम मापन केन्द्र स्वचालित बनाउने तर्फ ३३२ बाट ३५० पुगेको हुने लक्ष्य मन्त्रालयले लिएको छ । 

यसैगरी ऊर्जा विकास तर्फ उत्पादन तर्फ जलविद्युत उत्पादन क्षमता ३५०० मेगावाटबाट ४५०० मेगावाट पुर्‍याउने लक्ष्य राखेको मन्त्रालयले प्रसारण लाइन निर्माण (६६ के.भी.भन्दा बढी) ७४०५ किमीबाट ८५९० किमी पुर्‍याउने र ३३ केभी प्रसारण लाइन विस्तार ७७७० किमीबाट ८००० किमी पुर्‍याउने लक्ष्य राखेको छ । 

राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतमा पहुँच प्राप्त गर्ने जनसङ्ख्या ९७ प्रतिशतबाट १०० प्रतिशत पुर्‍याउने र प्रतिव्यक्ति खपत ४०० किलोवाट प्रतिघण्टाबाट ४५० किलोवाट घण्टा पुर्‍याउने ऊर्जा मन्त्रालयले लक्ष्य राखेको छ । 

प्रतिक्रिया दिनुहोस्