बेलायतमा पनि सुरु भयो हुलदंगा: यसको पछाडि को छ ?
केही दिनदेखिको हुलदंगाले बेलायत अशान्त छ । लण्डनस्थित नेपाली दूतावासले हुलदंगा भएका स्थानमा नजान र सुरक्षा निकायले जारी गरेका सूचना पालना गर्न नेपालीहरुलाई अनुरोध गरेको छ ।

ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ । विभिन्न ठाउँमा तोडफोड र आगजनीका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिने प्रयासमा ३०० भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । तर तनाव रोकिएको छैन ।\
यसलाई बेलायतमा सन् २०११ पछिको सबैभन्दा ठूलो हिंसा भनिएको छ । त्यतिबेला एक मिश्रित नस्लवादी व्यक्ति प्रहरीबाट मारिएपछि हिंसा भड्किएको थियो ।
गत हप्ता साउथ पोर्टको एक नाइट क्लबमा तीन बालिकाको हत्या भएको थियो । हत्यामा एक्सेल रुदाकुबाना नाम भएका १७ वर्षीय किशोरको संलग्नता रहेको प्रहरीको भनाइ छ । उनले १० जनाको हत्या प्रयास गरेका थिए, तीमध्ये ८ जना बालबालिकाहरु थिए । तीन बालिकाको हत्यापछि विरोध प्रदर्शन सुरु भयो ।
को हुन् प्रदर्शनकारी ?
जसले आप्रवासीहरु बस्ने गरेको होटल र प्रहरीलाई निशाना बनाए त्यसमा घोर दक्षिणपन्थी झुकाव राख्नेहरु रहेको आरोप छ । यसमा केही घुसपैठ पनि भएको हुनसक्ने अनुमान छ । यस्ता घटनामा सामाजिक सञ्जालमार्फत् फैलाइएका अफवाहले पनि बल पुर्याएको छ । हालैका वर्षदेखि बेलायतका दक्षिणपन्थी केही नेताहरुले आप्रवासीहरुको बढ्दो संख्याप्रति चिन्ता व्यक्त गर्ने गरेका छन् ।
एक महिना अघि मात्रै घोर दक्षिणपन्थी पार्टीका उम्मेदवारलाई हराउँदै प्रधानमन्त्री चुनिएका कियर स्टार्मरका लागि यो हिंसात्मक प्रदर्शन रोक्ने चुनौती छ ।