युद्ध संस्मरण: कमाण्डर क.तेन्जिङ शेर्पा (पासाङ) को सम्झनामा – धन बहादुर तामाङ ‘संघर्ष’
देशैभरि माओवादी जनयुद्धको सरगर्मी बढीरहेको थियो । फौजी कार्वाहीहरु पनि तीव्र गतिमा भईरहेको थियो । संगठनात्मक कामहरु र छापामार अभियानहरु पनि निरन्तरतामै थियो । जताततै माओवादीमय थियो । जाली फटाहाहरु गाउँ छाडेर शहरतिर भाग्ने क्रममा थिए । गाउँ माओवादीकै कब्जामा भए जस्तो थियो । यस्तो परिवेशमा मलाई पनि माओवादी जनयुद्धप्रति निकै चासो र आकर्षण बढीरहेको थियो । हाम्रो गाउँघरतिर पनि माओवादी छापामारहरु बन्दुक बोकेर आउँदा हृदयमा एकतमासको कौतुहलता र उत्साह पैदा भईरहेको थियो । आहा ! काँधमा राईफल, कम्मरमा खुकुरी र पछाडि झोला बोकेर नौजवान युवा युवतीहरु फर्मेशनमा हिंड्दा मनमा उकुसमुकुस पनि हुन्थ्यो । म पनि त्यसरी नै हिड्न पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो । टेपरेकर्डरमा रेकर्ड गरेको जस्तो बोली बोल्ने छापामारहरुको विश्वस्त पार्ने शैली देख्दा पनि म रोमान्चित हुन्थें । देश, जनता, पार्टी, क्रान्ति र मुक्तिको कुराहरू लहरै आउँथे । यही शैलीले पनि मलाई चुम्बकले झैं जनयुद्धतिर तान्यो । र स्थानीय पार्टी संगठनमा रहेर काम गर्न थालेँ ।

वैधानिक रुपमा पार्टी संगठनमा रहेर काम गर्दा क्रान्तिको बारेमा अझ धेरै कुराहरू बुझ्ने मौका पाएँ । २०५८ साल असार १३ गतेको कुरा हो । म खेतको काम सकेर घरमा बसिरहेको थिएँ । त्यही दिन माओवादी छापामारहरु क. भगवती प्रधान ‘प्रतिमा’ क. उमा के. सी. ‘सुजिता’ हाम्रो घरमा आएर क्रान्तिमा होलटाईमर हुनको लागि थप प्रेरित गरे । म पनि हारे यही एउटा जिन्दगी जिते सिंगो संसार भनेर क्रान्तिमा लामबद्ध भएँ । होलटाईमर भएपछि अनुशासनका तीन नियम र आठ ध्यान दिनुपर्ने कुराहरू । फौजी तालिमहरु नियमित रुपमा गर्न थालेँ । आफूलाई मजबुत बनाउन र लडाई जित्नको लागि कठिन भन्दा कठिन तालीमका चरणहरु पार गर्नुपर्दथ्यो । यसरी छोटो समयमै सैन्य दक्षता हाँंसिल गरेकै कारण म फेरि जनमुक्ति सेनाको नियमित फर्मेशनमा लामबद्ध भएँ । जनमुक्ति सेनाको फर्मेशनमा लामबद्ध भएपछि मैले पहिलो लडाइँ सोलुखुम्बु जिल्लाको सल्लेरी सदरमुकाम कब्जा गर्ने मोर्चामा भाग लिएँ । त्यहाँ म सेक्सन कमान्डर क. अविरलको कमान्डमा एसाल्टमा लडेँ । जीवनको पहिलो र भयानक लडाइँले मलाई निकै ठूलो साहस थप्ने काम गर्यो । लडाइँको पाठ पनि सिकायो ।
ठूला ठूला फौजी लडाइँहरु लड्दै जाने क्रममा २०५८ साल माघ २२ गते काभ्रे जिल्लाको भकुण्डेवेंशी मोर्चामा भाग लिएँ । त्यो मोर्चा पूर्णरूपमा सफल भएपछि हामी फेरि पूर्वी नेपालतिर लाग्यौं । हामी पूर्वतिर लागेपछि फौजी हमलाको लागि धेरै धेरै टार्गेटहरुको रेक्की गर्यौं । पूर्वी नेपालमा त्यतिबेलासम्म जनाधार पनि त्यति राम्रो थिएन । तर पनि पूर्वलाई राजनीतिक र फौजी रुपले उठाउनु हाम्रो कर्तव्य थियो । जनउभार पैदा गर्नु हाम्रो लक्ष्य थियो । त्यसै क्रममा हाम्रो जनमुक्ति सेनाको हेड्क्वाटरले एउटा ठूलै फौजी हमला गर्ने योजना बनायो । कमान्डर कमरेडहरु निरन्तर रेक्कीमा लागे । हामीले युद्ध सामग्रीहरु र खाद्यान्नहरुको व्यवस्था गर्न लाग्यौं । पूर्वमा युद्ध सामग्रीहरु र खाद्यान्न संकलन गर्न पनि निकै गार्हो पर्थ्यो । कहिले जाउलो मात्र खायौं । कहिले ढिंडो, रोटी खायौं । कहिले चामलको भात र चामलकै दाल पनि बनाएर खायौं । लडाइँको तयारीकै बेला हाम्रो टोली एकै ठाउँमा जम्मा भएर बस्दा दुश्मनले चारैतिरबाट घेरा हाल्यो । त्यहाँ पनि भीषण भिडन्त भयो । त्यो माङ्सिमा भन्ने ठाउँमा थियो । हामी बहादुरीतापूर्वक नलडेको भए हाम्रो ठूलो क्षति हुन्थ्यो । त्यतिबेला बेला २ नं प्लाटुन निकै नाम चलेको प्लाटुन थियो । यही प्लाटुनले नै लडाइँको पहलकदमी लिएको थियो । हामीले स्थितिलाई आफ्नो अनुकूलतामा ढालेर लडाइँको तयारी अझ तीव्र रुपले गरिरहेका थियौं ।
२०५९ साल वैशाख २४ गतेको त्यो दिन । दिनैभरी हामीले लडाइँको तयारी गर्यौं । युद्ध सामग्रीहरु विभाजन गर्यौं । एसाल्टहरुको आर्क, लडाइँको पहलकदमी र जिम्मेवारीबारे निश्चित कार्यविभाजन गर्यौं । केही समय आराम पनि गर्यौं । जब साँझ पर्न लाग्यो हामी उत्साहकासाथ हतारोमा थियौं । छिटो छिटो खाना खाएर आ-आफ्ना एसाल्ट फर्मेशनमा गह्रौं गह्रौं झोला बोकेर लाग्यौं । त्यो लडाइँ निकै चुनौतीपूर्ण थियो । हाम्रो लागि भूगोल पनि प्रतिकूल थियो । तर परिस्थितिलाई अनुकूलतामा ढालेर लडाइँ लड्नु पर्ने बाध्यता थियो । जति अँध्यारोले राज गर्दै थियो हामी त्यति नै अगाडि बढीरहेका थियौं । जब रातको एघार बज्न लागेको थियो । हामीले संखुवासभा जिल्लाको पूरानो सदरमुकाममा रहेको सशस्त्र बेस क्याम्पलाई घेरा हालिसकेका थियौं । रातको ठिक एघार बजे फायर खोलेपछि हाम्रो भीषण लडाइँ शुरु भयो । हामीले चारैतिरबाट भीषण हमला शुरु गर्यौं । उनीहरूले पनि जवाफी फायर शुरु गरे । हाम्रो लागि भूगोल अत्यन्तै प्रतिकूल थियो तर हामी साहसकासाथ अगाडि बढीरहेका थियौं । लडाइँ जसरी पनि जित्नुपर्छ भनेर साथीहरू ढल्दै जाँदा पनि अगाडि बढीरहेका थियौं । हामी एक नं एसाल्टबाट लडिरहेका थियौँ भने क. पासाङले दुई नं एसाल्टको कमान्ड गर्दै लडिरहेका थिए । लडाइँ अत्यन्तै भयानक भईरहेको थियो । उनीहरू हाईपोस्टमा थिए । हामी भीर उक्लँदै गएर मोर्चा सम्हानु पर्ने थियो । तर बिनाहिच्किचाहट हामी बढीरहँदा साथीहरू घाइते हुने र शहादत हुने क्रम पनि जारी थियो । तर पनि हामीले हिम्मत हारेका थियनौं । दोहोरी गोली चलिरहेकै थियो ।
मोर्चामा अगाडि बढ्ने क्रममा क. पासाङको एसाल्टको क. अम्बिका, क. बिहानी, क. सलिना लगायतका कमरेडहरु ढलिसकेका थिए । करिब करिब क. पासाङ्कओ एसाल्ट नै सकिसकेको थियो । दुश्मनले माथिबाट क्रमशः ३६ ह्याण्ड ग्रिनेड हानिरहेको थियो । टू ईन्च मोर्टारको सेल हानिरहेको थियो । म क. विक्रमको एसाल्टमा थिएँ । एसाल्ट कमान्डर क. विक्रम पनि घाइते भईसकेका थिए । मलाई पनि ग्रिनेडको छर्रा खुट्टामा लागेर घाइते भएँ । घाइते साथीहरूलाई पछाडि हटाएर सग्लो साथीहरूलाई अगाडि बढाएर कमान्डरहरुले लडाइँ लडाईरहेका थिए । अगाडि बढ्न नखोज्ने साथीहरूलाई प्लाटुन कमान्डर क. शिशिरले काँडेतारको बारतिरै हुत्याएर अगाडि बढाईरहेका थिए । शहादत प्राप्त गरेका साथीहरूलाई पनि पछाडि ल्याईंदै थियो । म पनि घिस्रींदै अलि पछाडि हट्न लाग्दा त्यति नै बेला क. पासाङलाई पनि ग्रिनेड लाग्यो र भूईंमा ढले । यसरी एसाल्ट कमान्डर नै ढलेपछि लडाइँको पहलकदमी लिन गार्हो भयो । लगभग १३ जना साथीहरूको शहादत भईसकेको थियो । करिब १६ जना साथीहरू घाइते भईसकेका थिए । झन् क. पासाङको त लगभग एसाल्ट नै सकिएको थियो । क. पासाङ्को एसाल्टले भीरको डिलमा रहेको बंकर कब्जा गर्नुपर्ने थियो । तर अत्यन्तै गार्हो थियो । उज्यालो पनि हुन लागेको थियो । लडाइँ जित्न सक्ने सम्भावना क्षीण हुन लागेको थियो । हाम्रो कमान्डबाट हामीलाई रिट्रीट हुने कासन आएपछि हामी लडाइँबाट भारी मनकासाथ फर्कियौं ।
क. पासाङ अत्यन्तै मिलनसार र मृदुभाषी थिए । शिक्षित पनि थिए । राजनीतिक, वैचारिक बहसमा खरो रूपमा उत्रिन्थे । सबैजनासँग समान व्यवहार गर्थे । आफ्नो टोलीलाई राजनीतिक र फौजी रुपले सँधै तम्तयार बनाउँथे । सँधै उत्साहित बनाउँथे । लडाइँमा पहलकदमी लिन्थे । वैचारिक रूपमा पनि प्रखर थिए । यसरी आकाशको तारा झैं चमचमाउने दोलखा जिल्ला जिरी नगरपालिकाका महान योद्धाप्रति हार्दिक श्रद्धाञ्जली ।।