ओली प्रधानमन्त्री भएसँगै प्रतिगमनको खतरा बढ्योः चित्रबहादुर केसी
काँग्रेस–एमाले गठबन्धनबारे पार्टी धारणा सार्वजनिक गर्न मंगलबार विज्ञप्ति जारी गर्दै उनले देशमा प्रतिगमनको समस्या झन् गम्भीर रूपमा देखापर्ने खतरा बढेको बताएका हुन् ।
ओलीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई समाप्त गर्ने, जनप्रतिनिधिमूलक संस्थाबाट आएको विरोधको सामना गरेर मार्गप्रशस्त गर्नेभन्दा दुईदुई पटक संसद् नै भङ्ग गरेर देशलाई प्रतिगमनतर्फ धकेल्ने कार्य गरेको स्मरण केसीले गरे । ओलीले विगतको उक्त गल्तीप्रति कुनै पश्चाताप गर्नुको ािटो त्यसको पक्षमा आफूलाई उभ्याउँदै आएको केसीले बताए ।
‘यो गठबन्धन र केपी ओली नेतृत्वमा बनेको सरकार नेपालका लागि तात्कालीन र दीर्घकालीन दुवै दृष्टिले हानिकारक रहेको छ’, उनले भनेका छन, ‘ त्यसैले हाम्रो दल राष्ट्रिय जनमोर्चाले ओली नेतृत्वमा बनेको सरकारको कडा विरोध गर्दछ ।’ ओली अधिनायकवादी चरित्रका कारण नेपाली राजनीतिमा निकै बदनाम केसीको आरोप छ ।
यही मौकामा साम्राज्यवादी शक्तिहरूले समेत मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताविरुद्ध षड्यन्त्र गर्न सक्ने खतरा बढेको उनले औंल्याए । यो परिस्थितिमा गणतन्त्र तथा राष्ट्रियता रक्षाका लागि संघर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा आफ्नो पार्टीले जोड दिने उनको भनाइ छ । केसीले कांग्रेस–एमाले गठबन्धन मुलुकका लागि हानिकारक रहेको समेत दाबी गरे ।

