कविता: “विस्फोट” – डम्बर थामी ‘अनुपम”
जैतुनको रङ्ग जस्तै छिर्केमिर्के
फक्ल्याँटा लगाएर
उन्मुक्तिको लक्ष्य बोक्दै
म
त्यो भीमकाय पहरामा
झुण्डिदै समयको लहरामा
रुझ्दै-भिज्दै रगतको छहरामा
बन्दुकको नाल तेर्स्याउँदै
झन्जावाततिर दौडिएँ
जहाँ जीउँदो मासु पोलिएको
अनौठो गन्ध आईरहेको थियो
जहाँ चिच्याहटमय, कोलाहलमय
वातावरण छाईरहेको थियो
जहाँ बारुदले डढेको
माटोको गन्ध फैलिरहेको थियो
म,
कठोर वातावरणलाई चिर्दै
अझ वेगवान गतिमा
गोलीहरु-बोलीहरु ओकल्दै
अचूक निशानाहरु मोल्दै
गोलाहरु फाल्दै
एकतमासले हुत्तिँदा
एक्कासी एउटा गोला
मेरै सामुन्नेमा भयङ्कर आवाजमा
विस्फोट भयो
मैले त्यो रातको कालीमामा
तोरीको फूल देखेँ
आगो बलेको देखेँ
सपनी सपनी भए जस्तै
लासको बिछ्यौनामाथि निस्लाम निदाएँ
प्रभातीको स्वर्णिम उस्तादमा
यसो आँखा खोल्दा/ब्युँझदा
रगतको पोखरीमा तातो बाफ उडेको देखेँ
यो भौतिक शरीर
काँछ जस्तो / शिशा जस्तो
टुक्रिए पनि
क्षतविक्षत भए पनि
आफू जीउँदो भएको पाएँ
धन्न ! मैले
मृत्यु दोसाँधमा जीवन पाएँ
रक्ततडागसँग प्रीत लाएँ
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा. -६, दोलखा ।
११ आश्विन २०७०, चरिकोट दोलखा ।