परदेशीको आवाज: कविता – डम्बर थामी “अनुपम”

देश बदल्ने संकल्प बोकेर
महाअभियानमा लामबद्ध भएको
म एक अथक यात्रीलाई
केहीगरी पनि नभएपछि
एक थान पासपोर्टको मूल्य
दलालसँग मोलमोलाइ गरेर
हावाको पछ्यौरीसँगै
उडेर गएँ सपनाको शहर

त्यो रापिलो बाफिलो मरुभूमिमा पाईला टेकेपछि
छातीभित्र स्वदेशको अस्मेल याद बोकेर
कहिले आँसुको लौरो टेक्दै काममा गएँ
कहिले हाँसोको जहाज चढ्दै काममा गएँ
कहिले बाबाको फाटेको दौरा
र आमाको फाटेको चोली सम्झँदै काममा गएँ
कहिले साहुको नमीठो गाली चाख्दै काममा गएँ
अनि टाउकोमाथि पचास डिग्रीको तातो घाम बोकेर
कमाएँ केही धन दौलत
र, महिनैपिच्छे पठाएँ देश बचाउनलाई रेमिटेन्स

त्यहाँ म जस्तै नौजवानहरु
कोही गल्ली गल्लीमा भौंतारीईरहेको देखें
कोही कारखानामा मेसिन जस्तै जोतिईरहेको देखें
कोही तारेभीर जस्तो गगनचुम्बी महलहरुमा
चमेरा जस्तै तुर्लुङ्ग झुन्डिएर शिशा पुछिरहेको देखें
कोही दमले ढल्नै लाग्दा पनि अन्डा टिपिरहेको देखें
कोही कृषि फार्मभित्र काम गर्दागर्दै हराईरहेको देखें
कोही खबुस चपाएर भेडा चराईरहेको देखें
कोही सिंगमरमरको भूँई टल्काईरहेको देखें
कोही समुद्रको पिँधमा रहेको ग्यास प्लान्टमा
जिन्दगी दाउमा राखेर काम गरिरहेको देखें
कोही सुँगुर बंगुर र गाई फार्महरुमा
गोबरसँगै लतपतिएर काम गरिरहेको देखें
कोही घरायसी काममा नजरबन्द जस्तो जिन्दगी घिसार्दै
साहुको घरमा अहोरात्र खटिईरहेको देखें

ए ! रेमिटेन्सले देश चलाउने सरकार
ए ! नौजवानहरुको पसिनामा राजनीति गर्ने सरकार
ए ! स्वरोजगारको नारा फलाकेर नअघाउने सरकार
ए ! देशलाई सिंगापुर बनाउँछु भनेर कुर्लिने सरकार
यिनै कामहरु स्वदेशमा नै पाईएको भए
यसैगरी विदेशमा जस्तै हामी सबै खटिएको भए
किन बन्दैनथ्यो हाम्रो देश पनि !
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा. -६, दोलखा ।
बागमती प्रदेश
सम्पर्क नं ९७६७४८०३८९
email : thamianupam@gmail.com

प्रतिक्रिया दिनुहोस्