थामी समुदायले मनाउने भुम्या ठोत्साको सांस्कृतिक महत्व र जिबन दर्शन ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलक हो। यहाँ बसोबास गर्ने समुदायमध्ये मानव बिकास सुचकाङ्कको आधारमा अतिसीमान्तकृत समुहमा राखिएको थामी समुदाय पनि एक हो। २०७८ को जनगणना अनुसार थामी समुदायको जनसंख्या ३२,७४३ रहेको छ भने नेपालको बागमती प्रदेशका जिल्लाहरु दोलखा, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली मुख्य हुन् भने हालको १ नं प्रदेश को जिल्लाहरु इलामा झापा र भोजपुरमा समेत यस समुदायको बसोबास छ। नेपालमा बसोबास गर्ने प्रत्यक आदिबासी समुदायको आफ्नो-आफ्नो पृथक सांस्कृतिक परम्परा र रितिरिवाज छन त्यस मध्ये थामी समुदायको भुम्या ठोत्सा पनि एक हो।

भुम्या ठोत्सा ( पुजा ) गर्ने बिधी:
यो पर्व मनाइनुको मुख्य उदेश्य प्रकृतिमा कुनै अनपेक्षित अनिष्ट नहोस र बार्षिक रुपमा दुइ पटक लगाइने बालीनालीमा कुनैपनि किसिमको रोग संक्रमण नहोस भन्ने बिस्वासका साथ प्रत्यक बर्षको २ पटक गरिने बैशाख पुर्णिमा र मङ्सिर पुर्णिमा लाइ साइत पारेर मनाउने गरिन्छ। सामान्यतय प्रत्यक थामी बस्तीको आफ्नो आफ्नो विशेषता हुन्छ भूम्या ठोत्सा निश्चित मितिमा गर्नुपर्ने भन्ने संसार भर एकै मिति हुदैन भुम्या ठोत्सासंग थामी समुदायको सम्बन्ध गहिरो छ। प्रकृति संग सम्बन्धित यो पर्व बर्तमान अवस्थामा सामुहिक रुपमा सदभावका साथ मनाइ खुसियाली आदानप्रदान गर्ने माध्यम समेत बनेको छ। भुम्या पुजा गर्दा हरेक वर्षा एउटा भाले कोदोको जिर्मा चामल अण्डा कुन परिवारले लैजाने भन्ने पुर्व निर्धारित हुन्छ। गाउँको प्रत्यक घरले भने फेबुत लैजाने चलन हुन्छ जसमा एउटा अण्डा र एक माना चामल र स्वयच्छिक भेटी अनिवार्य लैजानु पर्छ। भुम्या ठोत्साको अघिल्लो रात डाल बसी बिहान भुम्याथानसम्म सैहोले पुम्बा भट्याउदै गुरुआपा सहित नाच्दै जाने परम्परा रही आएको छ।

थान पुगेसंगै भुम्या देवाको अगाडी पुच्यु राखी गुरुआपाले खोलाडाप्लाको स्थानिय देबिदेरालीसंग प्राथना गर्दै थामी समुदायको सभ्यताको बिकासक्रम सिमरौनगढ देखि सुनारी आजि र यापति छुकु, उके छुकु र बेते आजी जस्ता पुर्खाहरुको नालीबेली फलाक्दै पालाखे सुरु गर्दछन। त्यससंगै भुम्याको भालेको पुजा गर्दै पर्ता हेर्ने भबिस्यबाणी गर्ने चलन छ। त्यससंगै गुरुले फेबुतमा ल्याएको अन्डाको पनि एक-एक गर्दै भबिस्य बाणी सम्बन्धित अण्डा धनीलाई सुनाउने र आगामी दिनको लागि दिशानिर्देश गर्दछन।

अन्तमा भुम्याको भाले पुजा गरी बनाइएको परिकार र फेबुतामा आएको अन्डालाई प्रसादको रुपमा गुरुको आशिर्बाद सहितको राखा ग्रहण गरी गुरुले त्यस भुम्याथान वरपर कुनैपनि अदृश्य शक्तिको प्रबेश नहोस भनि गुरुले चामलको मिठो मुसी बासको सिन्कामा उनेर बनाइएको फुर्बा हानेर चारकिल्ला सुरक्षित पार्दछन।

पालाखे: एक अलिखित शास्त्र:
खासगरी थामी समुदायको पण्डितलाइ गुरु आपा भन्ने चलन छ , उनीहरुले धाराप्रवाहका साथ देवताको साक्षी राखी फलाक्ने जीवन दर्शन पालाखे हो। यो कुनै लिखित नभएर मौखिक रुपमै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आजको अवस्थामा आइपुगेको हो । अर्थात श्रृति पालाखे स्मृति र मौखिक परम्परामा धानिएको छ । आदिवासीहरुको पालाखेलाई दन्त्यकथा, लोककथा, थुथुरीवेद आदि भनेर लिखित रुपमा उतार्ने गरिएको बताइन्छ । पालाखेलाइ कवितात्मक शैलीमा वाचन गरिन्छ । यो लयात्मक हुन्छ । त्यही कारण पालाखे वाचन गर्नका लागि नामको देवा मोम्प्रा र भुम्या ठोत्सा गरी यसमा पारंगत हुनुपर्छ भन्ने मान्यता छ ।

अर्को के पनि मान्यता छ भने, पालाखे वाचन गर्न पोख्त व्यक्ति अर्थात पुरोहित दैवी शक्तिले युक्त हुन्छन् भनिन्छ र बन झान्क्रीबाट सिक्षा प्राप्त गरेको बिश्वास गरिन्छ । उक्त पुरोहितलाई ठोङदु गुरु नामले पुकारिन्छन् । उनीहरुले नै पालाखे विधी अनुरुप कर्मकाण्ड गराउँछन् । यसमा लोक साहित्य पनि समेटिन्छ । आदिम युगदेखि आजको दिनसम्म समुदायको पूर्खाहरुले गरेका संघर्ष यसमा समेटिएका हुन्छन । यसमा मिथक छन् । पात्र छन् र प्रवृत्ति छन् । जीवन दर्शनले भरिपूर्ण रोमाञ्चक घटनाहरु छन् । समुदाय र जीवनको मार्ग दर्शन जनाउने विम्ब र प्रतिक समेत छन् ।

लेखक बिकेस थामी हाल थामी समुदायको छाता संस्था नेपाल थामी समाजको केन्द्रिय महासचिब हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्